सानो कोठाबाट सुरु भएको पल्पसा पार्लरको १५ वर्षे सफल यात्रा

सुन्दरहरैंचा, १४ असोज ०८३ । 

करिब १५ वर्षअघि एउटा सुन्दर सपना बोकेर मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ स्थित पि.एल.ओ. गेटमा सानो कोठाबाट सुरु भएको पल्पसा पार्लर अहिले व्यवसायसँगै सीप र रोजगारीको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

 

सुरुवाती दिनमा सीमित स्रोतसाधन र अनेक चुनौतीका बीच सञ्चालनमा आएको पार्लरले समयसँगै ग्राहकको विश्वास र निरन्तर मेहनतका कारण आफ्नो पहिचान बनाउन सफल भएको हो। पारिवारिक जिम्मेवारीसँगै व्यवसायलाई निरन्तरता दिँदै आएकी सञ्चालिका राधिका भट्टराईले उतारचढावका अनेक चरण पार गर्दै पार्लरलाई अहिलेको अवस्थामा ल्याउनुभएको हो।

 

पल्पसा पार्लरले हाल ३ जनालाई रोजगारी प्रदान गरिरहेको छ भने दैनिक करिब १५ देखि २० जना प्रशिक्षार्थीलाई सौन्दर्यसम्बन्धी सीप तथा तालिम दिँदै आएको छ। यसले पार्लरलाई सेवा प्रदान गर्ने ठाउँ मात्र नभई सौन्दर्य क्षेत्रमा भविष्य खोजिरहेका महिलाहरूका लागि सीप सिक्ने अवसरको केन्द्रसमेत बनाएको छ।

 

सुरुवाती दिन सम्झँदै सञ्चालिका भट्टराई भन्नुहुन्छ, “साना नानी र घरपरिवारको जिम्मेवारीसँगै यो काम सहज थिएन। तर मेरा भगवानरूपी ग्राहकहरूको साथ, सहयोग र विश्वासका कारण आज यो ठाउँसम्म आउन सफल भएकी छु।”

 

व्यवसायमा सफलता हासिल गर्न सुरुवातमा ठूलो लगानीभन्दा पनि निरन्तर मेहनत, धैर्य र आफ्नो कामप्रतिको लगन आवश्यक हुने उहाँको अनुभव छ। सपना देखेर मात्र सफलता हासिल नहुने भन्दै भट्टराईले आफूले रोजेको पेशामा इमानदारीपूर्वक निरन्तर मेहनत गरिरहने हो भने एक दिन सफलता अवश्य प्राप्त गर्न सकिने बताउनुहुन्छ।

 

सानो कोठाबाट सुरु भएको पल्पसा पार्लरको १५ वर्षे यात्रा अहिले रोजगारी सिर्जना, सीप विकास र आत्मनिर्भरताको यात्रामा अघि बढिरहेको छ। ग्राहकको विश्वासलाई आफ्नो व्यवसायको सबैभन्दा ठूलो पूँजी मानेर अघि बढिरहेकी राधिकाको यो यात्रा संघर्षबाट सफलतातर्फ अघि बढ्न चाहने नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ।

प्रतिकृया दिनुहोस