सुकुना बहुमुखी क्याम्पसको २० औँ सिनेट बैठक सम्पन्न, १३८ विद्यार्थीलाई छात्रवृत्ति
सुन्दरहरैंचा, १७ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा वडा नं. १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस सभाको २०औँ बैठक सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा शनिबार सम्पन्न बैठकमा क्याम्पसको प्रगति, आगामी नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न विषयमा छलफल तथा निर्णय गरिएको छ।
सभा बैठकको पहिलो चरणमा बिहान आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा १३८ जना जेहेन्दार विद्यार्थीलाई कुल ८ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो। छात्रवृत्तिका लागि अक्षय कोषको ब्याज, विभिन्न दाता संघ–संस्था तथा व्यक्तिबाट प्राप्त रकम, वित्तीय संस्था र दातृ निकायबाट प्राप्त सहयोग तथा क्याम्पस कोषको रकम प्रयोग गरिएको क्याम्पसले जनाएको छ।
छात्रवृत्ति समितिका संयोजक रमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको छात्रवृत्ति योजनाबारे जानकारी गराउनुभएको थियो। क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विद्यार्थीलाई कुल ५६ लाख ९९ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गर्ने योजना रहेको छ।
यसैगरी, सिनेट बैठकको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३।०८४ का लागि २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। उद्घाटन सत्रमा सहभागीलाई क्याम्पस सञ्चालक समितिका सदस्य टीकाप्रसाद कट्टेलले स्वागत गर्नुभएको थियो। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस संघका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेललगायत विभिन्न क्याम्पसका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यसै बिच विश्वविद्यालय अनुदान आयोग नेपालको अनुदानमा निर्मित सुकुना क्याम्पसको १४ कोठे भवनको समेत उद्घाटन गरिएको थियो। भवन उद्घाटन गर्दै प्रमुख अतिथि प्रा. डा. केसीले सामुदायिक क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि विश्वविद्यालय अनुदान आयोगले आर्थिक, भौतिक, व्यवस्थापकीय तथा अनुसन्धानका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो।
सभामा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की तथा सामुदायिक क्याम्पसमा उत्कृष्ट नतिजा हासिल गर्ने बी.एड. विज्ञानकी छात्रा जीविका सापकोटालाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. नेत्रबहादुर कार्की तथा जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले सिनेट बैठकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उद्घाटन सत्रपछि सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सिनेटको बन्दसत्र सञ्चालन भएको थियो। बन्दसत्रले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तावित २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट पारित गरेको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नुभएको थियो।










प्रतिकृया दिनुहोस