कृषिमा भविष्य खोज्दै पंकज मेहता, १० वर्षदेखि तरकारी खेती
सुन्दरहरैंचा, १५ असोज ०८३ ।
मोरङको सुन्दरहरैंचा–८ मा करिब १ बिघा जग्गा भाडामा लिएर २५ वर्षीय पंकजकुमार मेहताले विदेश जाने सोच त्यागेर विगत एक दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
कृषि कर्ममा लागेका मेहताले तरकारी खेतीलाई नै आफ्नो रोजगारी र भविष्यको आधार बनाएका छन्। खेतमा पसिना बगाएर मेहनत गर्न सके विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै देशमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ। कृषि व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले युवाहरूले स्वदेशमै केही गर्न सक्ने सम्भावना रहेको बताए।
तरकारी खेतीमा मेहनतसँगै बजार व्यवस्थापन पनि महत्वपूर्ण हुने उनको भनाइ छ। कहिलेकाहीँ उत्पादन राम्रो भए पनि बजारमा उचित मूल्य नपाउँदा भने समस्या हुने गरेको उनले बताए। “मेहनत गरेर उत्पादन गर्यो, तर बजारमा भाउ नपाउँदा दुःख लाग्छ,” मेहताले भने।
कृषकलाई स्थानीय सरकारले समयमै मल, बीउ तथा आवश्यक कृषि सामग्रीमा सहजीकरण गरिदिए व्यवसाय गर्न सहज हुने मेहताको भनाई छ। कृषि क्षेत्रमा आवश्यक सहयोग, बजारको सुनिश्चितता र उत्पादनमा सहजीकरण हुन सके युवाहरूलाई स्वदेशमै स्वरोजगार बन्न थप प्रेरणा मिल्ने उनको विश्वास छ।
करिब १० वर्षको कृषि यात्रामा विभिन्न उतारचढाव भोगे पनि मेहता भने आफ्नो पेशाप्रति सन्तुष्ट छन्। आफ्नै माटोमा श्रम गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै उनी अहिले पनि दैनिक खेतमै व्यस्त छन्। उनको कृषि यात्राले विदेश जाने सोचमा रहेका युवाहरूका लागि स्वदेशमै मेहनत र लगानी गर्ने सम्भावनातर्फ सोच्न प्रेरणा दिने देखिन्छ।










प्रतिकृया दिनुहोस