डा. शुनिल शर्माले लिए जापानको अस्पतालमा ६ महिनादेखि थलिएकी विष्णुको निःशुल्क उपचारको जिम्मा ।

काठमाडौं । जापानमा पक्षघातका कारण विगत ६ महिनादेखि अस्पतालको शैय्यामा छटपटाइरहेकी नेपाली युवती विष्णु कुँवरलाई स्वदेश फर्काएर निःशुल्क उपचार गराउने जिम्मा काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्माले लिएका छन्।  उनले विष्णुलाई जापानबाट नेपाल ल्याउनेदेखि उपचार पूरा गरी अस्पतालबाट घर फर्किंदासम्म लाग्ने सम्पूर्ण खर्च निःशुल्क बेहोर्ने प्रतिबद्धता जनाएका हुन्।

 


रोजगारीका सिलसिलामा जापान पुगेकी विष्णुलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको हो। ६ महिनादेखि अस्पतालको शैय्यामा रहेकी उनी आर्थिक अभावका कारण स्वदेश फर्कनसमेत सकिरहेकी थिइनन्। जापानमा उपचार प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको र नेपाल फर्किएर उपचार गराउन पनि आर्थिक अवस्था अनुकूल नभएपछि उनको अवस्था थप कष्टकर बनेको थियो।

 


नेपाली युवतीको यस्तो अवस्थाबारे जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले जानकारी गराएका थिए। पाठकबाट विष्णुको अवस्थाबारे थाहा पाएपछि शर्माले उनलाई तत्काल नेपाल फर्काउने र केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाउने घोषणा गरेका हुन्। डा. शर्माले चिकित्सा विज्ञानले सम्भव तुल्याएका सबै उपचार निःशुल्क गराइदिने प्रतिबद्धता जनाउँदै विष्णुलाई जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेका छन्।

 

उनले विष्णुलाई नेपाल पठाउने प्रक्रिया अघि बढाउन र त्यसमा समस्या भए नेपाल वायुसेवा निगमको हवाई टिकटसमेत आफैंले किनिदिने बताएका छन्। उनका अनुसार विमानस्थलमा ओर्लिएपछि अस्पतालसम्म ल्याउने, उपचार गर्ने र उपचार पूरा गरेर डिस्चार्ज हुँदासम्म लाग्ने खर्चमा परिवारले कुनै आर्थिक भार व्यहोर्नुपर्ने छैन।

 

विष्णु नेपाल आइपुग्ने समय आफू काठमाडौंमा भए विमानस्थलमै पुगेर स्वागत गर्ने, नभए आवश्यक चिकित्सकको टोली विमानस्थल पठाएर उनलाई अस्पताल ल्याउने र तत्काल उपचार प्रक्रिया सुरु गर्ने पनि उनले बताएका छन्। अस्पताल सञ्चालन गर्नुको उद्देश्य आर्थिक कारोबारमा मात्र सीमित नरहेको बताउँदै डा. शर्माले मानवीय सेवाभावलाई आफूहरूले प्राथमिकतामा राख्ने गरेको बताए।  ‘उहाँलाई एक मिनेट पनि ढिलो नगरी नेपाल पठाइदिनुहोस्, उपचारको जिम्मा हामी लिन्छौं,’ डा. शर्माले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस