केरौन सबस्टेसन पाँच वर्षपछि सञ्चालनमा
१६ कात्तिक ०८३।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित केरौन पश्चिममा पाँच वर्षअघि निर्माण सुरु भएको नेपाल विद्युत् प्राधिकरणको केरौन १३२।३३ केभी सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ । शनिबार सुरु गरिएको ट्रान्सफर्म चार्ज गर्ने काम २४ घण्टापछि सकिने छ । २०७८ साउन २७ गते १३२।३३ केभी सबस्टेसन निर्माण गर्न इनर्जी पिक इन्जिनियरिङ–एसआर एसोसिएटस इन्फ्रास्ट्रक्चर जेभलाई ठेक्का दिएको थियो ।
निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो तर सात पटक म्याद थपेपछि तोकिएको मितिभन्दा तीन वर्ष ढिलो गरी आयोजना सम्पन्न भएको हो ।
सबस्टेसनका आयोजना प्रमुख दर्शनराय यादवका अनुसार एसियाली विकास बैङ्क (एडिबी) को ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भएको हो । सुरुको लागत ८० करोड रहेको थियो । डलरमा कारोबार हुने भएकाले लागत मूल्य बढेको उहाँको भनाइ छ ।
आयोजना प्रमुख यादवका अनुसार हाल विद्युत् वितरण गरिरहेका केन्द्रले २२० भोल्टेज दिनुपर्नेमा १७० सम्म दिइरहेकामा त्यति नै थप विद्युत् प्रसारण गर्न यो सबस्टेसन स्थापना गरिएको हो । यो स्टेसन सुचारु भएपछि रङ्गेली, विराटचोक र लेटाङका सबैखाले ग्राहक ३२ वर्ष पुरानो समस्याबाट मुक्त हुने छन् ।
श्रोतः हरिप्रसाद कोइराला












प्रतिकृया दिनुहोस