प्रथम सुन्दरहरैँचा नगरस्तरीय स्काउट क्याम्प – २०८३ सम्पन्न
सुन्दरहरैंचा, ०१ असार ०८३ ।
नेपाल स्काउट समिति सुन्दरहरैँचाको आयोजनामा प्रथम सुन्दरहरैँचा नगरस्तरीय स्काउट क्याम्प – २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २९ गतेदेखि सुन्दरहरैँचा – ५ स्थित हसिना सिमसार क्षेत्रमा सञ्चालन भएको क्याम्प सम्पन्न भएको छ ।
क्याम्पमा सुन्दरहरैँचा नगरभित्र स्काउट सञ्चालन भएका १२ वटा विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन भएको क्याम्पमा क्याम्प फायर, म्याप रिडिङ, हाइकिङ लगायतका साहसिक तथा जीवनोपयोगी गतिविधि सञ्चालन गरिएका थिए । सांस्कृतिक कार्यक्रम, चित्रकला, गाँठो दौड, हाजिरीजवाफ, सर्वधर्म सभा निर्माण तथा मार्चपास प्रतियोगिताले सहभागीहरूलाई उत्साहित बनाएको थियो ।
प्रतियोगिताको समग्र अंक तालिका अनुसार ११ अंकसहित द राइजिङ इङ्लिस स्कुल प्रथम, १० अंकसहित हरैँचा मोडल स्कुल द्वितीय तथा ८ अंकसहित ज्ञानज्योति स्कुल तृतीय भएका छन् । विजेता विद्यालयहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागी विद्यार्थीलाई मेडल र सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैँचा स्थानीय स्काउट समितिका प्रमुख आयुक्त मनोज लामा कार्कीले स्काउट गतिविधिले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र आत्मनिर्भरताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले क्याम्प सफल बनाउन सहयोग गर्ने विद्यालय, प्रशिक्षक, स्वयंसेवक तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीले पछिल्लो समय विद्यार्थी लक्षित स्काउट कार्यक्रमप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सीप विकाससँगै वातावरण संरक्षणप्रति सकारात्मक चेतना फैलाउन सहयोग पुगेको बताउनुभयो ।
क्याम्पको सफलतापछि सुन्दरहरैँचा नगरपालिकाले स्काउट गतिविधिलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । स्थानीय स्काउट समितिले आगामी दिनमा यस्ता क्याम्पहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । समापन कार्यक्रममा शिक्षक, स्काउट नेता, जनप्रतिनिधि, अभिभावकको सहभागिता रहेको स्काउटका प्रदेश आयुक्त सन्तोष घिमिरेले जानकारी दिनुभयो ।










प्रतिकृया दिनुहोस