सुकुना सामुदायिक हस्पिटलबाट छिट्टै शल्यक्रिया सेवा सञ्चालन हुने

सुन्दरहरैंचा, ६ साउन ०८३ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा सञ्चालित सुकुना सामुदायिक हस्पिटल प्रा.लि. स्थानीय बासिन्दाका लागि सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । वि.सं. २०६७ सालमा स्थापना भई निरन्तर स्वास्थ्य सेवामा समर्पित हस्पिटलले लामो समयदेखि स्थानीय तथा आसपासका क्षेत्रका नागरिकलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 

हस्पिटलमा ओ.पि.टि. सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी, इन्डोस्कोपी, ई.सि.जी., ईको लगायतका आधुनिक स्वास्थ्य सेवाहरू उपलब्ध छन् । त्यसैगरी स्त्री रोग, बाल रोग, सर्जरी, नाक–कान–घाँटी, ग्यास्टोलोजिष्ट, हाडजोर्नी तथा मूत्र रोग सम्बन्धी उपचार सेवा पनि हस्पिटलबाट प्रदान हुँदै आएको छ । एकै स्थानबाट विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्न सकिने भएपछि स्थानीय नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता समेत कम हुँदै गएको छ ।

 

चार जना एम.बि.बि.एस. चिकित्सकबाट २४ सै घण्टा उपचार सेवा उपलब्ध गराउँदै आएको हस्पिटलले दक्ष स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सेवामार्फत बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्ने प्रयास गर्दै आएको जनाएको छ । स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित हस्पिटलले आगामी दिनमा सेवाको थप विस्तार गर्ने तयारीसमेत गरेको छ ।

 

यसैक्रममा सुकुना सामुदायिक हस्पिटलमा चाँडै नै शल्यक्रिया सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको हस्पिटलका कार्यकारी निर्देशक डा. रञ्जीत यादवले जानकारी दिनुभयो । शल्यक्रिया सेवा सञ्चालनमा आएपछि सुन्दरहरैंचा तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै थप सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

 

स्थानीय नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, आधुनिक स्वास्थ्य सेवा र दक्ष चिकित्सकीय सेवासहित सुकुना सामुदायिक हस्पिटल निरन्तर सेवामा समर्पित छ ।

प्रतिकृया दिनुहोस