सुन्दरहरैँचा फुड फेस्टिबल मेला स्थल सरसफाइ सम्पन्न
विराटचोक, १५ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० विराटचोकमा आगामी असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैँचा फुड फेस्टिबल हुने भएको छ। फेस्टिबलको तयारीस्वरूप आज मेला स्थल सरसफाइ गरिएको छ।
‘“रन सुन्दरहरैँचा” को आयोजनामा विभिन्न संघसंस्था तथा स्थानीयको सहभागितामा विराटचोक, खोर्साने, बाघझोडा हुँदै औद्योगिक प्रदर्शनी केन्द्रमा आएर सरसफाइ गरिएको हो।
फुड फेस्टिबलका संयोजक भोलेश्वर दुलालले दशैँ र तिहारलाई लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिबलमा विभिन्न नयाँ स्वादका खानाका परिकार उपलब्ध हुने बताउनुभयो। सुन्दरहरैँचामा पहिलोपटक आयोजना गर्न लागिएको फुड फेस्टिबललाई नयाँ र विशेष बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। दुलाल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले ‘हिँडौँ, स्वास्थ्यका लागि’ भन्ने अभियानअन्तर्गत विराटचोकदेखि खोर्साने, बाघझोडा हुँदै मेला स्थलसम्म आएर सरसफाइ गरिएको बताउनुभयो। फुड फेस्टिबलले स्थानीय व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने भन्दै उहाँले सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गर्नुभयो।
फोटोः कृष्णचन्द्र सुवेदी ।











प्रतिकृया दिनुहोस