इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न
सुन्दरहरैँचा, १२ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ मा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को २६औँ वार्षिक साधारणसभा इन्द्रपुर जेसीज मङ्गल स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ।
साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपालप्रसाद पौड्यालले गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२।०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्थाका सदस्यहरू संस्थाको गतिविधि र लगानीबारे सचेत तथा जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको कारणमध्ये सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरू संस्थाको गतिविधिबारे चासो नराख्नु पनि रहेको उहाँको भनाइ थियो।
साधारणसभाले आर्थिक वर्ष २०८२।०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३।०८४ को कार्यक्रम तथा बजेट पारित गरेको छ। साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।
सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।
यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।
अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। यसैगरी ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।
कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिनालाई तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।










प्रतिकृया दिनुहोस