धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न लेटाङ नगरपालिकामा विशेष कार्यक्रमको आयोजना
लेटाङ, १७ साउन ०८३ ।
मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ। नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्कबाट शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश दिइएको छ।
सुनसरीसहित तराईका विभिन्न जिल्लामा हालै भएका घटनापछि धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले लेटाङ नगरपालिका १ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको हो।
नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्कका रूपमा परिचित यस स्थानमा हिन्दु, बौद्ध, इसाई, किराँत र इस्लाम धर्मका गुरुहरू, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कुनै पनि धर्मले हिंसा नभई शान्ति, अहिंसा, सहिष्णुता र भाइचाराको शिक्षा दिने भएकाले सामाजिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सदियौँदेखि नेपाली समाज आपसी सद्भाव, सहिष्णुता र एकताको भावनासहित अघि बढ्दै आएको उल्लेख गर्दै संवेदनशील अवस्थामा अपुष्ट तथा भ्रामक समाचारको पछि नलाग्न नगरबासीलाई आग्रह गर्नुभयो। उहाँले लेटाङ नगरपालिकाले दुई दशकभन्दा बढी समयदेखि शान्ति र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो।
विभिन्न धर्मका गुरुहरूले धर्मका नाममा द्वन्द्व होइन, आपसी सम्मान, सहअस्तित्व र मानवताको भावना बलियो बनाउनुपर्नेमा जोड दिए। सबै धर्मको साझा सन्देश शान्ति, प्रेम र भाइचारा रहेको उनीहरूको भनाइ थियो। लेटाङ नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च नेपाल र अन्तरधार्मिक शान्ति सञ्जालको सहकार्यमा सम्पन्न कार्यक्रममा अन्तरधार्मिक शान्ति पार्क परिसरमा ब्यानर र प्लेकार्डसहित शान्ति परिक्रमा र्याली पनि निकालिएको थियो। सहभागीहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिदै संयुक्त हस्ताक्षर समेत गरिएको थियो ।
श्रोतः पूर्विअनलाइन


..jpeg)







प्रतिकृया दिनुहोस