नेपाल–भारत सहकार्यमा सुन्दरहरैंचामा १६ कोठे विद्यालय भवन निर्माण, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन
सुन्दरहरैंचा, २० असोज ०८३ ।
मोरङको सुन्दरहरैंचा–७ गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले भवन मंगलबार उद्घाटन गरिएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र सुन्दरहरैंचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको १६ कोठे भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
भवन निर्माणमा कुल ३ करोड २८ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए। उनका अनुसार निर्धारित समयसीमाभित्र सम्झौताबमोजिम गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न गरिएको हो। निर्माण सम्पन्न भएको भवनमा १३ महिनासम्म कुनै समस्या देखिएमा निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।
कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा हाल करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। नयाँ भवन निर्माणसँगै विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र सहज पठनपाठनको वातावरण तयार भएको विद्यालयले जनाएको छ। पर्याप्त कक्षाकोठासहितको नयाँ संरचनाले विद्यालयको शैक्षिक गतिविधि सञ्चालनमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम र असल नागरिक उत्पादन गर्न विद्यालयले विशेष ध्यान दिनुपर्ने बताए। उनले अंग्रेजी माध्यमको शिक्षालाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
‘भवनको भौतिक संरचना पूरा भयो, अब विद्यालयले सबै हिसाबले योग्य र असल नागरिक निर्माण गर्नुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने, विद्यालयको मुख्य जिम्मेवारी नै असल नागरिक निर्माण गर्नु भएकाले यसमा कुनै किसिमको कमजोरी गर्न नहुने उनको भनाइ थियो।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले हिमाली तथा पहाडी क्षेत्रका ३० वटा विद्यालय निर्माण गर्ने योजना अघि बढाएको जानकारीसमेत दिए। करिब ३० करोड रुपैयाँ लगानीमा निर्माण हुने ती विद्यालयमा छात्रावाससहितका सुविधा विकास गर्ने योजना रहेको उनले बताए। विद्यालय शिक्षाको विकासका लागि विगतको तुलनामा अझ बढी लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले अभिभावक शिक्षा तथा तालिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।









प्रतिकृया दिनुहोस