धनकुटाको आठपहरिया संग्रहालय सञ्चालनको अन्तिम तयारी
धनकुटा, १८ असोज ०८३
धनकुटा नगरपालिका वडा नं. ४ स्थित बिहिबारे हटियानजिक निर्माण गरिएको आठपहरिया संग्रहालय सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । आठपहरिया जातिको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालयका पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो ।
एउटा ठूलो हल सहित १० वटा कोठा रहेका दुईतले भवन निर्माणमा करिब तीन करोड रुपियाँको लागत रहेको छ । भवनमा परम्परागत शैली झल्काउने गरी फुसको छाना लगाइएको छ । धनकुटा नगर विकास समितिको करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको संग्रहालयका लागि सङ्घीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको लगानी रहेको छ ।
संग्रहालयमा आठपहरिया जातिको कला, संस्कृति, भेषभूषा, भाषा, धर्म तथा पुरातात्त्विक महत्वका सामग्री राखिने भएका छन् । संग्रहालयका लागि आवश्यक सामग्री सङ्कलनको काम भइरहेको किरात आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव कोमल किम्दाहाङ आठपहरियाले बताउनुभयो ।
किम्दाहाङका अनुसार आठपहरिया समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका भाँडाकुँडा, हातहतियार, गरगहना, बाजागाजा, खानपान तथा रहनसहनसँग सम्बन्धित सामग्रीसमेत सङ्कलन गरिनेछ । समुदायको आफ्नै धर्म, संस्कृति, परम्परा र रीतिरिवाज रहेकाले जन्मदेखि मृत्युसम्मका संस्कार सम्बन्धी दस्तावेज समेत तयार गरी संग्रहालयमा राखिने उहाँले बताउनुभयो ।
धनकुटा नगरपालिका र किराँत आठपहरिया समाजबीच सहकार्य गरी संग्रहालयलाई पर्यटनको केन्द्रसँग जोड्ने योजना रहेको बताइएको छ । आठपहरिया समुदायको मुख्य बसोबास धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र रहेको छ । सोही कारण नगरपालिकाले समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि संग्रहालय निर्माण गरी सञ्चालनमा ल्याउन पहल गरेको हो ।
आठपहरिया समुदायको जनसङ्ख्या देशभर करिब १० हजारको हाराहारीमा रहेको बताइएको छ । समुदायभित्र छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत १९ जातीय समूह रहेका छन् ।
फोटोः सन्तोष सुवेदी, धनकुटा










प्रतिकृया दिनुहोस