गुणस्तरीय रङ उत्पादन गर्दै पूर्वाञ्चल पोलिमर एक्रोलिक
सुन्दरहरैंचा, ३१ भाद्र ०८३ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–९ मा सञ्चालित पूर्वाञ्चल पोलिमर एक्रोलिक प्रा.लि.ले स्वदेशमै गुणस्तरीय घरायसी तथा निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न प्रकारका रङहरु उत्पादन गर्दै आएको छ। वि.सं. २०६५ सालमा स्थापना भएको यस उद्योगले विदेशी कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरका रङहरु उत्पादन गर्दै बजारमा आफ्नो पहिचान बनाउँदै गएको छ ।
उद्योगले घर तथा भवनमा प्रयोग हुने विभिन्न प्रकारका रङहरुसँगै फर्निचर उद्योगमा आवश्यक पर्ने गम समेत उत्पादन गर्दै आएको छ। आधुनिक प्रविधि र गुणस्तरीय कच्चा पदार्थको प्रयोगमार्फत उत्पादनमा गुणस्तर कायम गर्दै आएको उद्योगले उपभोक्ताको आवश्यकता र बजारको मागअनुसार आफ्ना उत्पादनलाई बृद्धि गर्दै लगेको छ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नसमेत उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। उद्योगमा हाल दैनिक करिब १२ जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उद्योगबाट उत्पादित रङ तथा अन्य सामग्रीहरू नेपालभर बिक्री–वितरण हुँदै आएको उद्योगका सञ्चालक ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो।
स्वदेशमै गुणस्तरीय रङ उत्पादन गरी आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ अघि बढिरहेको उद्योगले आगामी दिनमा उत्पादनको दायरा थप विस्तार गर्दै उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।










प्रतिकृया दिनुहोस