गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिमा डा. सुनीलकुमार शर्मा  

सुन्दरहरैचा।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी डा.सुनिलकुमार शर्माले पाएका छन् । जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यो जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्नो लागि केवल पद नभई ठूलो दायित्व र भावनात्मक क्षण भएको डा. शर्माले बताए।

 

“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भनेका छन्। गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गरेको कामबाट स्वर्गीय कोईरालाको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।

 

यसै अवसरमा डा. शर्माले यस वर्ष काठमाडौं मेडिकल कलेज दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याउने अभियानलाई समेत अघि बढाउने उनको घोषणा रहेको छ । 

प्रतिकृया दिनुहोस