अलपत्र सुवर्ण फार्मास्युटिकल सेन्टर सञ्चालनका लागि सांसद चौधरीको पहल

 

सुन्दरहरैँचा, ०६ भाद्र ०८३ । 
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फार्मास्युटिकल सेन्टरलाई सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य प्रेमलाल चौधरीले पहल थाल्नुभएको छ।

 

लामो समयदेखि निर्माण सम्पन्न भएर पनि प्रयोगविहीन अवस्थामा रहेको सेन्टरको वास्तविक अवस्था बुझ्न सांसद चौधरीले २०८३ साल श्रावण ३ गते स्थलगत निरीक्षण गर्नुभएको थियो। निरीक्षणपछि सेन्टर सञ्चालनका लागि आवश्यक पहल अघि बढाउँदै उहाँले २०८३ साल भदौ ४ गते बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी उपकुलपति स्मृति कार्कीसँग भेटघाट गर्नुभएको छ।

 

भेटका क्रममा सांसद चौधरीले राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई अब जसरी पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ।
सुवर्ण फार्मास्युटिकल सेन्टर २०५८ सालमा भारत सरकारको प्राविधिक सहयोग तथा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको हो। 

 

औषधि उत्पादन तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले निर्माण गरिएको संरचना लामो समयदेखि सञ्चालनमा आउन नसक्दा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको छ।

 

सांसद चौधरीले सेन्टरको भौतिक अवस्था, आवश्यक पूर्वाधार, सञ्चालनका लागि आवश्यक लगानी तथा व्यवस्थापकीय पक्षबारे समेत सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ। उहाँले सेन्टरलाई कुन मोडलबाट सञ्चालन गर्दा प्रभावकारी, पारदर्शी र दीगो हुन्छ भन्ने विषयमा गहिरो अध्ययन गरिने बताउनु भएको छ।
सरकारी स्वामित्वमै सञ्चालन गर्ने, सार्वजनिक–निजी साझेदारी मार्फत सञ्चालन गर्ने वा अन्य उपयुक्त व्यवस्थापकीय मोडल अपनाउने विषयमा अध्ययन गरेर निष्कर्षमा पुगिने उहाँको भनाइ छ।

 

“राज्यको ठूलो लगानी भइसकेको संरचना लामो समयसम्म अलपत्र अवस्थामा राख्नु हुँदैन। यसको वास्तविक अवस्था र सञ्चालनका सम्भावित मोडलको गहिरो अध्ययन गरेर सरकार र संसदमा प्रभावकारी रूपमा आवाज उठाउनेछु,” सांसद चौधरीले भन्नुभयो।

 

स्थानीयवासीले पनि सेन्टरलाई शीघ्र सञ्चालनमा ल्याएर औषधि उत्पादन, रोजगारी सिर्जना तथा स्वास्थ्य क्षेत्रमा स्थानीय र राष्ट्रियस्तरमा योगदान पुर्‍याउनुपर्ने माग गर्दै आएका छन्।

सांसद चौधरीले स्थलगत निरीक्षण र बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँगको छलफलबाट प्राप्त तथ्यका आधारमा सेन्टर सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ। 

 

लामो समयदेखि अलपत्र रहेको सुवर्ण फार्मास्युटिकल सेन्टर सञ्चालनमा आएमा राज्यको लगानीको सदुपयोग हुनुका साथै औषधि उत्पादनमा आत्मनिर्भरता, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस