महिलाहरूलाई आत्मनिर्भर बनाउन सुन्दरहरैँचा नगरपालिकाद्वारा दुना टपरी बनाउने मेसिन हस्तान्तरण

सुन्दरहरैँचा, २४ असार ०८३ । 

सुन्दरहरैँचा नगरपालिका वडा नं. १० का महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले दुनाटपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ। स्थानीय चारकोसे झाडीमा खेर गइरहेका पातहरूलाई सदुपयोग गर्दै महिलाहरूको आर्थिक अवस्था सुधार गर्न नगरपालिकाले यो कार्यक्रम अघि सारेको हो। नगरपालिकाको ८० प्रतिशत र स्थानीय महिलाहरूको २० प्रतिशत लगानीमा उक्त मेसिन वितरण गरिएको हो।

 


नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोग गरी महिलाहरूलाई स्वरोजगार र आर्थिक रूपमा सबल बनाउन यो मेसिन वितरण गरिएको हो। वनमा झरेर खेर जाने पातहरू सङ्कलन गरी दुनाटपरी बनाउँदा वन पैदावारको सदुपयोग हुने र महिलाहरूले घरको काम भ्याएर पनि फुर्सदको समयमा आम्दानी गर्न सक्ने विश्वास लिइएको छ।

 

नेपाली समाजमा जन्म, मृत्यु, विवाह लगायतका विभिन्न संस्कार र सामाजिक कार्यहरूमा दुनाटपरीको माग उच्च रहने गरेको छ। आधुनिक समयमा मानिसहरू व्यस्त हुँदै गएका कारण बजारमा परम्परागत दुनाटपरीको व्यावसायिक सम्भावना निकै राम्रो रहेको र यस कार्यले महिलाहरूलाई आत्मनिर्भर बन्न ठूलो मद्दत पुग्ने देखिन्छ।

प्रतिकृया दिनुहोस