अलपत्र सडकबारे जनगुनासो, ठेकेदारलाई कालोसूचीमा लैजाने प्रक्रियामा सुन्दरहरैंचा नगरपालिका

सुन्दरहरैचा, २३ जेठ ०८३ ।

सडक निर्माणको ठेक्का लिएर काम पुरा नगरी अलपत्र पार्ने ठेकेदारलाई अब सुन्दरहरैंचा नगरपालिकाले कालोसूचीमा लैजाने प्रक्रियाको थालनी गर्ने भएको छ । 


सुन्दरहरैँचा नगरपालिकाले जेष्ठ २२ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेले लामो समयदेखि निर्माण ठेक्का लागेका वडा नं. १ का कुमारगाउँ, सलकपुर, मृगौलिया जाने सडक लगायतका विभिन्न सडकहरू अलपत्र अवस्थामा रहेको विषय उठाउनुभएको थियो।
उहाँले निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासीले धुलो, हिलो तथा आवागमन समस्याबाट सास्ती खेप्नुपरेको बताउँदै यी सडकहरू कहिले सम्पन्न हुन्छन् भनी नगर प्रमुखसँग प्रश्न गर्नुभयो। 

 

जवाफमा नगरप्रमुख केदारप्रसाद गुरागाईंले निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि अटेर गरेको बताउनुभयो। उहाँले ठेक्का सम्झौताअनुसार हालको मूल्यसहित जरिवाना असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

 

नगर प्रमुख गुरागाईंले निर्माण कार्यमा भएको ढिलाइप्रति नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा गरी समस्या छिट्टै समाधान गरिने विश्वास दिलाउनुभयो। साथै, अलपत्र रहेका सडक निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गराउन नगरपालिका सक्रिय रूपमा लागिरहेको बताउनुभयो।

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए।

प्रतिकृया दिनुहोस