परीक्षा दिएर फर्कँदै गरेका एक विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु,  दुईजना घाईते

 


सुन्दरहरैंचा, २२ वैशाख ०८३ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ८ सलकपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा आज दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

कक्षा १२ को परीक्षा दिएर घर फर्कँदै गरेका  साजिलाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू दुर्घटनामा परेका छन् ।  परीक्षा केन्द्र सलकपुरस्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालयबाट परीक्षा दिएर घर फर्कने क्रममा दुर्घटना भएको साजिलाल माध्यमिक विद्यालयले जनाएको छ ।

 

दुर्घटनामा मोटरसाइकल चालक विद्यार्थी  धनकुटाको छथरजोरपाटी गाउँपालिका १ निवासी २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आशिष विक र १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस