डिजिटल तथा मोबाइल व्यवसायीलाई व्यावसायिक सचेतना कार्यक्रम सम्पन्न 

सुन्दरहरैंचा, २८ भाद्र ०८३ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको आयोजनामा डिजिटल तथा मोबाइल व्यवसायीहरूका लागि व्यावसायिक सचेतना तथा छलफल कार्यक्रम संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा संघको सम्पन्न भएको छ।

 

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको सभाहलमा सञ्चालन भएको कार्यक्रममा डिजिटल तथा मोबाइल व्यवसायसँग सम्बन्धित व्यावसायिक मर्यादा, चोरी तथा चोरीका सामानको कारोबार, चोरी पैठारी न्यूनीकरणलगायत विविध समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

 

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा डिजिटल तथा मोबाइल व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरिक्षक रमेश रायमाझी, अधिवक्ता बालकृष्ण अचार्य तथा भीम दाहालले व्यवसायीहरूलाई व्यावसायिक आचरण,  कानुनी पक्ष तथा चोरीका सामानको कारोबारबाट हुनसक्ने जोखिमका विषयमा प्रशिक्षण दिनुभएको थियो।

 

प्रशिक्षणका क्रममा व्यवसायीहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल तथा आवश्यक कागजात हेरेर मात्र खरिद गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। सामान चोरीको हो वा होइन भन्ने विषयमा समेत सचेत भएर मात्र कारोबार गर्नुपर्ने भन्दै शंकास्पद स्रोतबाट आएका सामान खरिद नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको थियो।

 

कार्यक्रमले डिजिटल तथा मोबाइल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। साथै, यस्ता सचेतनामूलक कार्यक्रमले चोरी तथा चोरीका सामानको कारोबार न्यूनीकरण गर्न व्यवसायी र सुरक्षा निकायबीच सहकार्यसमेत थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
 

प्रतिकृया दिनुहोस