पूर्वाञ्चल विश्वविद्यालयमा सहकुलपति पोखरेलको भ्रमण, डिजिटलीकरण र सुधारलाई तीव्रता दिन निर्देशन

सुन्दरहरैँचा, २९ भाद्र ०८३ । 
शिक्षा तथा खेलकुद मन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि परिणाममुखी कार्यसम्पादन, समन्वय र सहकार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

 

पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय, गोठगाउँमा मन्त्री पोखरेलको प्रमुख आतिथ्यमा समसामयिक विषयमा छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयको नयाँ नेतृत्व तथा सम्पूर्ण टोलीलाई स्पष्ट लक्ष्यसहित परिणाम देखिने गरी काम गर्न आग्रह गरे।

 

उनले विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताए। विश्वविद्यालयको डिजिटलीकरणको कामलाई समेत युद्धस्तरमा अघि बढाउन उनले निर्देशन दिए।

 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। उनले प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन डिजिटलीकरण तथा विद्युतीय सुशासनलाई उच्च प्राथमिकतामा राखिने बताए।

 

उपकुलपति मरहट्टाले गोठगाउँस्थित विश्वविद्यालयले हाल प्रयोग गरिरहेको जग्गा नेपाल सरकारको नाममा रहेको उल्लेख गर्दै उक्त जग्गा विश्वविद्यालयको नाममा कायम गराउन आवश्यक सरकारी पहल गरिदिन सहकुलपति पोखरेलसमक्ष अनुरोधसमेत गरे।

 

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पन्ना थापाले उपकुलपति मरहट्टाद्वारा प्रस्तुत पाँचवर्षे रणनीतिक योजनालाई आधार बनाएर विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाइने बताए।

 

मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयका वर्तमान आवश्यकता र चुनौती समाधानका लागि परम्परागत कार्यशैलीबाट मात्रै अघि बढ्न नसकिने धारणा राखे। उनले विश्वविद्यालयका आगामी काम स्पष्ट, मापनयोग्य र प्रत्यक्ष प्रतिफल देखिने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए।

 

कार्यक्रमको अन्तिम चरणमा भएको खुला अन्तरक्रियामा विद्यार्थी प्रतिनिधि रजत दासले पठनपाठनका क्रममा विद्यार्थीले भोग्नुपरेका व्यावहारिक समस्या तथा शैक्षिक सुधारका विषयमा ध्यानाकर्षण गराए। स्थानीय नागरिक समाजका अगुवा चिरञ्जिवी शिवाकोटीले विश्वविद्यालयद्वारा सञ्चालित अस्पताललाई सर्वसाधारणले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउन आग्रह गरे।

 

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, विभिन्न निकायका प्रमुख, प्रशासक, अधिकृत तथा कर्मचारी, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको थियो। परिचयात्मक कार्यक्रमसँगै विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र आगामी सुधारका प्राथमिकताबारे सरोकारवालाबीच छलफल समेत भएको थियो।

प्रतिकृया दिनुहोस