आमकास नेपाल मोरङको ७औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः उमादेवी सेढाईं निर्वाचित

सुन्दरहरैँचा, २२ भाद्र ०८३ ।
आमकास नेपाल मोरङको ७औं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिकावडा नं. ८, सलकपुरस्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको माथिल्लो भवनमा मंगलबार साधारणसभा तथा निर्वाचन सम्पन्न भएको हो । साधारणसभाले उमादेवी सेढाईंलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। यससँगै संस्थाको नेतृत्वमा सेढाईंले निरन्तरता पाएकी छन्।

 

निर्वाचनबाट यसअघि कायम रहेका अन्य समिति सदस्यलाई यथावत् राख्दै रिक्त रहेका तीन सदस्य पदमा बेलकुमारी घिमिरे, सुनिता घिमिरे र मन्दिरा प्रसाईं निर्वाचित भएका छन्। नयाँ सदस्यको चयनसँगै समितिले पूर्णता पाएको आयोजकले जनाएको छ।

 

साधारणसभाको प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिका–८ की वडा सदस्य कुमादेवी लुइँटेल सहभागी थिइन्। कार्यक्रममा सुन्दरहरैँचा–९ की महिला सदस्य शारदा गदाली तथा वडा नं. १० की दीपा विकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, विशिष्ट अतिथि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। 

 

साधारणसभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा संस्थाले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल गरिएको थियो।

पुनः अध्यक्ष निर्वाचित भएपछि उमादेवी सेढाईंले संस्थामाथि सदस्यहरूले देखाएको विश्वासलाई आगामी कार्यकालमा अझ जिम्मेवार ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने तथा सदस्यहरूको सक्रिय सहभागितामार्फत संस्थाका गतिविधिलाई थप विस्तार गर्ने बताइन्।

 

उनले भनिन्, “पुनः नेतृत्व गर्ने जिम्मेवारी पाउनु मेरा लागि सम्मानसँगै ठूलो जिम्मेवारी पनि हो। सबैको साथ, सहयोग र सहकार्यमा संस्थालाई अझ प्रभावकारी बनाउँदै सामाजिक क्षेत्रमा देखिने गरी काम गर्नेछौँ।” साधारणसभा संस्थाका सदस्य, अतिथि तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस