लेटाङ रेडक्रसद्वारा आगलागी पीडितलाई राहत सामग्री वितरण
लेटाङः मोरङको लेटाङ नगरपालिका–७, वारङ्गीमा भएको आगलागीबाट घर तथा पसल गुमाएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी लेटाङले राहत सामग्री वितरण गरेको छ ।
आगलागीबाट पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै रेडक्रसका सल्लाहकार समेत रहेका पूर्वमन्त्री डिगबहादुर लिम्बूसहितको टोली घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो । टोलीमा नेपाल रेडक्रस सोसाइटी लेटाङ नगर सभापति प्रशान्त निरौला, भोगटेनी उपशाखा सभापति बालकुमार लिम्बू तथा समाजसेवी इन्दु चौधरीलगायतको सहभागिता रहेको थियो ।
रेडक्रसले पीडित परिवारका लागि दाल, चामल, थाल, कचौरा, म्याटलगायतका आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ । राहत हस्तान्तरणका क्रममा पूर्वमन्त्री लिम्बूले आगलागी पीडित तीनै परिवारलाई तत्काल आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै सहयोगी दाताहरूलाई पीडित परिवारको अवस्था बुझेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आइतबार भएको आगलागीमा फमकुमार मगरको घर, टीकाप्रसाद धितालको होटल, किराना तथा कस्मेटिक पसल र मनोज शाक्यको भाँडा पसल पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।







प्रतिकृया दिनुहोस