आम्लाबुङ कला साहित्य संसारले  साँस्कृतिक कार्यक्रम सहित  सेल्फी रोड गजल साँझ कार्यक्रम सम्पन्न

बेलबारी । 

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ स्थित लक्ष्मीमार्गमा आम्लाबुङ कला साहित्य संसारले  साँस्कृतिक कार्यक्रमसहित  सेल्फी रोड गजल साँझ कार्यक्रम सम्पन्न गरेको छ ।

 

साहित्यकार तिला लेकालीको प्रमुख आतिथ्यतामा शुक्रबार गजल साँझ कार्यक्रम सम्पन्न भएको हो। आम्लाबुङ कला साहित्य संसारका अध्यक्ष धनजित पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतम, स्थानीय समाजसेवी शिवकुमार राई, श्रम संस्कृति पार्टीका नेता अमिर मगर लगायत विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो।

 

कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए भने  लक्ष्मी डान्स सेन्टरका कलाकारहरूले आकर्षक नृत्यहरू समेत प्रस्तुत गरेका थिए।  स्थानीय जनसमुदायहरूको ठूलो  भिडभाड भएपनि स्टेज नहुँदा कार्यक्रम स्थलमा भेला भएका दर्शकहरूलाई नृत्य लगायत प्रस्तुति हेर्न असहज भएको थियो । सो स्थानमा बिभिन्न कार्यक्रमहरु गर्नका लागि असहज भैरहेकोले  त्यहाँ  सामुदायिक वनले चाँडै स्टेज बनाउने लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमले बताए ।

 

बेलबारी नगरपालिका र स्थानीय लक्ष्मी सामुदायिक वनको समेत सहयोगमा लक्ष्मीमार्गमा रहेको नातीटोलमा रातभरि झिलिमिली हुनेगरी करिब २५० मिटर लामो सेल्फी रोडमा बत्तीहरु जडान गरिएको छ भने सो मार्गलाई आकर्षक बनाइएको छ। 

 

२०३६ सालतिर  जंगल फडानी गरी स्वर्गीय नाती राई लगायतका युवाहरूले भाउन्नेबाट लक्ष्मी मार्ग आउने सो सडक बनाउन सुरु गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । सेल्फी रोड नामाकरण गरी  रोडको   स्तरोन्नतिसँगै बत्तीहरू जडान गरिएपछि हाल त्यस क्षेत्रमा खासगरी युवा युवतीहरूको भिडभाड हुने गरेको छ।

श्रोतः उत्तरी मोरङ

प्रतिकृया दिनुहोस